२०८१ पुष १० , बुधवार

निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि मुम्बई जाने यात्रु अलपत्र

सुनाखरी न्युज/ काठमाडौं ।
इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट) को बिल्ड प्रेसरसम्बन्धी समस्या उत्पन्न भएपछि नेपाल वायुसेवा निगमले साढे ११ बजे मुम्बई पठाउनुपर्ने जहाजलाई निर्धारित समयमा उडाउन सकेन ।

 

जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन् । निगमको यात्रु सेवा विभागका एक उच्च अधिकारीका अनुसार मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो । निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको ती अधिकारीले बताए ।

 

एयर स्टार्ट युनिटको काम काम जहाजको एक्जिलरी पावर युनिट (एपीयू) ले काम नगर्दा बाहिरबाट इन्जिन स्टार्ट गराउन सहायता प्रदान गर्ने हो ।

निगमका एक निर्देशकका अनुसार अब निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी मुम्बई पठाउने भएको छ ।

 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निगमको विमानस्थलमा रहेका कर्मचारीहरू यात्रुलाई भर्खरै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी अल्फा किलो एक्सरेमा सार्ने तयारी गर्दै छन् ।

काठमाडौं-मुम्बई एकफर्ती साढे दुई घण्टाको उडान समय हो । उताबाट काठमाडौं फर्किने ९० हाराहारी यात्रु छन् ।