२०८१ आश्विन ६ , आइतवार

सरिता लामिछाने अभिनीत फिल्म ‘सरी मम’ को टिजर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’ को टिजर सार्वजनिक गरिएको छ।

 

एनएफआई क्रियशसनको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थितिलाई समेटिएको छ। यो फिल्मलाई नविन बोगटीले निर्देशन गरेका हुन्। एनएफआई क्रियशनको ब्यानरमा बनेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

 

किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन्। दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्। फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुनेछ। कार्यकारी निर्माता विनोद लामाका अनुसार फिल्मलाई एक साता मात्रै हलमा प्रदर्शन गरिनेछ।