सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरू विरुद्ध उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी दिंदै अनुसन्धानका लागि आग्रह गरेको हो ।
महानगर प्रहरी बल प्रमुख राजु पाण्डे सहित १८ जना नगर प्रहरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको छ । नगर प्रहरी शर्मिला बोगटीलाई कब्जामा लिएर निर्घात कुटपिट गरेको र उनीसहित तीन जना नगर प्रहरीलाई उपचारका लागि आईसीयुमा राख्नुपरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनु भएको छ । अनधिकृत संरचना हटाउन कानुन बमोजिम काममा खटिएका नगर प्रहरीहरूमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न महानगरले माग गरेको छ ।
महानगरपालिकाले सांघातिक हमलामा उत्रिएकाहरु विरुद्ध किटानी उजुरी समेत हालेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगरको टोली खटिएको थियो । सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा, खुकुरी जस्ता धारिला हतियारसहित आक्रमणमा उत्रिएर आपराधिक क्रियाकलपा गरेको महानगरको भनाइ छ ।