२०८१ पुष २७ , शनिवार

बुढ्यौलीले कि खानपानले अनुहारमा चाउरीपना निस्किने

सुनाखरी न्युज/ काठमाडौं । उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा पर्न थाल्छ। के कारणले अनुहार चाउरी पर्छ ? यसबाट कसरी छुटकारा पाउने ?अनुहारमा चाउरी आउनुको मुख्य कारण उमेर ढल्किंदै गएपछि आउने बुढ्यौली र घामको परावैजनी किरण हो । साथै चिन्ता र खानपानले हाम्रो शरीरको सबै अंगमा जस्तै छालामा पनि असर गर्छ र अनुहारमा चाउरीपनको समस्या आउँछ। यस्तो खुम्चाउने बानी परेकामा पनि चाउरी आउन सक्छ ।

चाउरीपनको चरण

यही उमेरदेखि चाउरी पर्न थाल्छ भनेर ठ्याक्कै भन्न सकिंदैन । पहिले चाउरीपनलाई बुढेसकालको संकेत भनिन्थ्यो । तर अहिले ३० वर्षकै उमेरमा समेत अनुहारमा चाउरी देखिन थालेको छ । घाममा काम गर्ने व्यक्तिमा सानै उमेरमा पनि चाउरीपनको समस्या देखिन सक्छ । वंशाणुगत कारणले पनि चाउरी पर्ने उमेर निर्धारण गर्छ । तर सामान्यतया ४० वर्षको उमेरपछि चाउरी आउन थाल्छ ।उमेरसँगै छालाको विभिन्न किसिमका तन्तुहरू मासिंदै जान्छन् ।छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ । छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखापर्छ ।

चिन्ता र तनाव जस्ता मानसिक विकारले सिधै छाला चाउरिने समस्या त देखा पर्दैन । तर तनाव लिएर निधार खुम्चाउने, आँखा खुम्चाउनेमा त्यो भाग चाउरी पर्छ । तर सनस्क्रिन र राम्रो गुणस्तरको क्रिमको प्रयोग गर्दा चाउरीपनको जोखिम भने कम हुन्छ ।चाउरीपन अस्थायी रूपमा हटाउने, छोप्ने विभिन्न किसिमका प्रविधि मेडिकल साइन्सले भित्र्याएको छ । अस्थायी रूपमा चाउरीपन हटाउन ‘भिटामिन ए’बाट बनेका केही औषधिको प्रयोग, पिलिङ, बोटक्स र फिलर्स जस्ता उपाय अपनाउन सकिन्छ ।

कसरी रोक्ने चाउरीपन ?

उमेर बढेसँगै चाउरी पर्ने भएकाले यसलाई स्थायी रूपमा हटाउन त सकिंदैन । तर उमेर भन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न भने केही कुरामा ध्यान दिन सकिन्छ ।चाउरीपनबाट जोगाउन छालालाई घामको परावैजनी किरणबाट जोगाउन एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउने, छाता ओढ्ने, चस्मा लगाउने, क्याप लगाउने र पूरा बाहुला लुगा लगाउनुपर्छ ।निधार खुम्चाउने, आँखा खुम्चाउने जस्ता अनुहारको भाव बिगार्ने काम नगर्ने । सन्तुलित खाना खाने, प्रशस्त मात्रामा पानी पिउने र तनाव कम लिने गर्दा पनि चाउरीपनको समस्या कम हुन्छ ।