२०८१ आश्विन ७ , सोमवार

सुकुम्बासीहरुलाई ‘भोट बैंक’ मात्रै बनाएको काठमाडौंका मेयर साहको जिकीर

सुनाखरी न्युज/काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरूलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरेको भन्दै कटाक्ष गर्नुभएको छ ।

 

बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानको ओलीले आलोचना गरेपछि सामाजिक सञ्जालबाट त्यसको जवाफ दिंदै मेयर साहले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा बेवास्ता गरेको समस्यालाई थप नबल्झाउन आग्रह गर्नुभएको हो । २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको, पटक पटक मन्त्री, प्रधानमन्त्री र दुई तिहाइको सरकारको प्रधानमन्त्री बन्दा पनि सुकुम्बासीले भोगेका ३२ वटा जाडो देख्नुभएन भन्ने ब्यंग्य गर्नुभएको छ ।

 

ओलीलाई सम्बोधन नै गर्दै लेखिएको टिप्पणीमा मेयर साहले ओलीबाट नै त्यस्तो धारणा आउनु असामान्य चाहीँ नभएको उल्लेख गर्नुभएको छ । सुकुम्बासीहरू भोट बैंक मात्रै बनेको भन्दै उहाँले नेवा सभ्यता मास्ने गुठी आन्दोलनमा पनि उनीहरुको प्रयोग गरिएको भन्दै कटाक्ष गर्नुभएको छ । जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा सुन्धारा सुक्ने गरी धरहराको नाममा सेतो टावर किन ठड्याउन हुन्थ्यो भन्ने प्रश्न पनि मेयर साहले गर्नुभएको छ ।

 

एमाले अध्यक्ष ओलीले मंगलबार पार्टी मूख्यालयमा आयोजित कार्यक्रममा थापाथलीका सुकम्सबासीमाथि बल प्रयोग गरेर महानगरपालिका र सरकारले ताण्डव मच्चाएको टिप्पणी गर्नुभएको थियो ।