२०८१ पुष २८ , आइतवार

शेयर बजारमा सुधार, अर्थमन्त्री र गभर्नरले भने अर्थतन्त्र लयमा फर्किन थाल्यो

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्से सूचक बिहीबार ११.२२ अंकले बढेर १९६१।०६ विन्दुमा आएको छ । १ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अर्थतन्त्रको बागडोर सम्हालेका व्यक्तिहरुले अब मुलुकको अर्थतन्त्र सही ट्रयाकमा जान लागेको अभिव्यक्ति दिएपछि बजारले पनि सोही अनुसार सकारात्मक प्रतिक्रिया दिएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा  एकै स्वरमा अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको बताएका थिए ।

अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रमा संकट छ भन्ने नबुझ्ने मानिसले मात्र हो भनेर स्पष्टरुपमा अर्थतन्त्र सकारात्मक बाटोमा लागेको दाबी गरेका छन् । यस्तै, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालको अर्थतन्त्र अब संकटबाट बाहिर आएको बताए । केही चुनौतीहरु बाँकी रहे पनि समग्र अर्थतन्त्रमा सुधार भएको छ, संकटको अवस्था छैन, उनले भने ।

अर्थतन्त्रको बागडोर सम्हालेकाहरुले सकारात्मक भाषण गरेपछि पुँजी बजारका लगानीकर्ताहरुको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव परेको हो । पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानले सकारात्मक प्रभाव पार्छ । नीतिनिर्माण तहमा बसेका व्यक्तिहरुको बोलीले पनि उत्तिकै प्रभाव पार्ने गरेको पाइन्छ । त्यसो त पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ ।

तर, त्यस अनुपातमा कर्जा प्रवाह हुन सकेको छैन । समग्रमा आगामी दिनहरु सकारात्मक हुने देखिए पनि सेयर बजारको बाटो भने सधैं एकनासको हुँदैन । बजार तलमाथि भइरहन्छ । यसको बाटो सीधा नभएर बाँङोटिंगो हुने गर्छ । यसर्थ, लगानीकर्ताले सोही अनुसार आफ्ना रणनीतिहरु तय गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । यतिबेला लाभांशको सिजन चलिरहेको छ । धेरै कम्पनीहरुको अझै लाभांश घोषणा र बुक क्लोज हुन पनि बाँकी छ ।

 

यसर्थ, अहिले सेयरधनीले बन्न्नेले करिब एक वर्षको अवधिमा २ पटकसम्म लाभांश पाउन सक्ने सम्भावना रहन्छ । यस दिन २४१ कम्पनीको ३८ लाख ६५ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ४५ लाख रुपैयाँसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेका छन् । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनसीसी बैंकको संस्थापक सेयर र हिमाल दोलखा हाइड्रोपावर परेका छन् ।