२०८१ आश्विन ८ , मंगलबार

पेटदेखि छालासम्म मूलाका फाइदाहरु

सुनाखरी न्युज/ काठमाडौं । पाचन प्रणालीसम्बन्धी समस्यामा मूला एकदमै उपयोगी हुन्छ । साथै मधुमेहको समस्यामा मूला उपयोगी हुन्छ । मूलामा हुने फाइबरले रगतमा सुगरको मात्रा कम गर्ने काम पनि गर्छ । यसको दैनिक सेवनले मधुमेहलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

पोषणविद्हरु भन्छन्, पाचन प्रणालीका लागि मूला रामवाण नै हो । त्यससँगै मूलाका अरु थुप्रै विशेषता छन् । जस्तो यसलाई काँचै खान सकिन्छ, पकाएर खान सकिन्छ, भण्डारण गरेर राख्न सकिन्छ । सलादको रुपमा मूला खान सक्नुहुन्छ । यसलाई तरकारी बनाएर खाए पनि गज्जब हुन्छ । मासु वा आलुमा मिसाउँदा उत्तिकै स्वादिलो हुन्छ । सिलौटोमा कुच्याएर सिलाम वा तिलको छोपसँग ताजा अचार बनाउँदा भयो । तेल, खुर्सानी मिसाएर बोत्तलमा राख्न सकियो । सिन्की बनाएर वर्षभर स्वाद फेर्न सकियो ।

सलादको रुपमा तपाईं नियमित मूला खानुहुन्छ भने तपाईंले आफ्नो पेट हल्का अनुभव गर्नुहुनेछ । त्यसैगरी नियमित मूला खाँदा पायल्स जस्ता मलद्वारसम्बन्धी समस्या पनि नहुने चिकित्सकहरुको भनाइ छ । मूला सजिलै पच्ने खानेकुरामा पर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले खानेकुरा सजिलै पचाउँछ । यसको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत र पायल्सको समस्या पनि कम गर्छ । मूलामा प्रशस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पूरा गर्छ ।