२०८१ मंसिर १० , सोमवार

किसान चर्को मूल्य तिरेर भारतीय मल किन्न बाध्य

सुनाखरी न्युज / कञ्चनपुर – कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ । बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताउनुभयो । ‘सहकारीमा अनुदानको मल नै पाइएन’, उनले भने, ‘गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग गर्‍यौँ ।’ किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ ।

 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीका अनुसार जिल्लामा गहुँखेती २१ हजार दुई सय १० हेक्टरमा हुने गरेको छ । जसका लागि डिएपी मल नौ हजार मेट्रिकटन आवश्यक पर्दछ । ‘प्रतिवर्ष गहुँखेती हुने जग्गाको क्षेत्रफल घट्दै गएको छ’, उनले भने, ‘जनसंख्या प्रतिवर्ष बढ्दो रुपमा रहेको छ, बढ्दो जनसंख्याका लागि गहुँखेती हुँदै आएको जग्गाको उर्वराशक्ति बढाई उत्पादन बढाउन आवश्क छ ।’गहुँको उत्पादन बढाउनका लागि किसानलाई सिँचाइसँगै रासायनिक मलको सहज आपूर्ति आवश्यक रहेको उहाँले बताउनुभयो । “अनुदानको मल थोरै मात्रै किसानसम्म पुग्ने गरेकाले प्रमाणित नगरिएको भारतीय रासायनिक मल किसानले प्रयोग गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “जसको प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याउने कार्य गरेको छ, किसानलाई उन्नत बीउ, सिँचाइ, आधुनिक यन्त्रसँगै गुणस्तरयुक्त रासायनिक मल उपलब्ध गराउन आवश्यक छ ।”

 

 

अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई रु तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । अनुदानको डिएपी मल प्रतिबोरा रु दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलव्ध गराउने गरेका छन् । सहकारीले किसानलाई रु दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । जिल्लामा अनुदानको रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे«डिङ कर्पोरेशन लिमिटेडले गर्दै आएका छन् । साल्टटे«डिङसँग हालसम्म रासायनिक मलको मौज्दात रहेको छैन । साल्टटे«डिङ लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख दीपक भट्टका अनुसार केही दिनभित्रै नौ सय मेट्रिकटन युरिया आपूर्ति हुने क्रममा रहेको छ ।