२०८१ पुष २७ , शनिवार

गोरखकाली रबर उद्योगमा चिनियाँ व्यवसायी टोलीको अवलोकन भ्रमण

सुनाखरी न्युज/ काठमाडौं । विगत आठ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न चिनियाँले चासो देखाएका छन्। बन्द रहेको उद्योग पुनः सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्न अलग–अलग दुई चिनियाँ टोली आएका छन्। चिनियाँ कम्पनीद्वारा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको गोरखकाली रबर उद्योग विगत लामो समयदेखि बन्द रहे पनि गत २०७१ चैत २१ गतेबाट पूर्ण रूपमा बन्द भएको थियो।

 

त्यसयताको हरेक निर्वाचनमा नेताहरूले गोरखकाली रबर उद्योग सञ्चालन गर्ने एजेन्डालाई आफ्नो घोषणापत्रमा समेट्ने गरेका छन्। मन्त्री यादवले पुराना कर्मचारीलाई हरहिसाब गरी भुक्तानी गर्ने र सञ्चालन मोडालिटीबारे सूचना प्रकाशित गर्ने आश्वासन दिएका थिए। तर, कर्मचारीलाई बक्यौता भुक्तानी मात्र गरेका थिए भने, सञ्चालन मोडालिटीबारे कुनै सूचना प्रकाशित गरेका थिएनन्।

 

मंसिर १४ गते बुधबार चिनियाँ व्यवसायीहरूको टोलीले उद्योगको अवलोकन भ्रमण गरेको सो टोलीको दोभाषेका भूमिकामा रहेका दिनेश खनालले जानकारी दिए। पहिले पनि प्राविधिकसहितको टिमले उद्योगको अध्ययन भ्रमण गरेको थियो अहिले तीनजनाको टोलीले अध्ययन गरेको छ। उद्योगको वर्तमान अवस्था, मेसिन, प्रविधि, भौगोलिक अवस्थिति, अवस्था आदिको अवलोकन गरेको खनालले बताए ।

 

उद्योगको अवलोकन गर्न आएका चिनियाँ टोलीलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना तथा सो उद्योग रहेको वडा नं. १३ की वडाध्यक्ष मित्रा परियारले स्वागत गरेका थिए। यसअघिको प्राविधिकसहितको चिनियाँ टोलीले मर्मत खर्च लागतसमेतको रिपोर्ट तयार गरी तत्कालीन उद्योगमन्त्री मातृका यादवलाई पेस गरेका थिए।