सुनाखरी न्युज / काठमाडौँ – ‘प्रेमगीत ३’ निर्माता सन्तोष सेन विरुद्ध सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका छन । उनले निर्माता संघमा सन्तोष सेन विरुद्ध ४ करोड ८४ लाख ५० हजार रकम ठगीको दाबीसहित निर्माता सेनविरुद्ध उजुरी दर्ता गराएका हुन । राईले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले अहिलेसम्म फिल्मको डिजिटल राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका हुन् । भारतको सिक्किम निवासी राम गोपाल राईले मंसिर ११ गते संघमा निर्माता सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार फिर्ताको माग गर्दै उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता भएपछि निर्माता संघले सेनलाई छलफलका लागि संघको कार्यालयमा बोलाएको छ ।
राईले संघमा बुझाएको निवेदनमा निर्माता सेनसँग ‘प्रेमगीत ३’लाई मुम्बईमा हिन्दी स्वरांकन गरेर विश्वव्यापी रिलिज गर्ने विषयमा भेट भएको, निर्माता सेनले फिल्ममा १० करोड लगानी गर्न प्रस्ताव राखेको र सन् २०२० डिसम्बर ५ मा भारतको मुम्बईमा भेट गरेर फिल्मको वल्र्डवाइड डिजिटल अधिकार लिने समझदारी गर्दै भारतीय ३ करोड ९नेपाली ४ करोड ८० लाख० दिएको उल्लेख छ ।
सम्झौता लगत्तै विश्व कोभिडबाट आक्रान्त भएपछि आफूले मानविय हिसाबले रकम नमागेको राईले संघमा बुझाएको उजुरी पत्रमा भनिएको छ । फिल्म प्रदर्शनपछि सम्झौता अनुरुप आफूले पाउनु पर्ने फिल्मको डिजिटल प्लेटफर्म राइट्सको डिजिटल संकलन कपी उपलब्ध गराउन बारम्बार ताकेता गर्दा पनि निर्माता सेनले विभिन्न बहाना बनाएर सम्पर्कमा नआएको निवेदनमा उल्लेख छ । फिल्म हिन्दीमा डब भई संसारभर रिलिजका लागि सम्भव भएको बताइएको छ । सन्तोष सेन भने अहिले मुम्बईमा छन् । उनले प्रतिनिधि पठाउने वाचा गरे पनि अहिलेसम्म कोही निर्माता संघको कार्यालय नआएको संघ स्रोतले जनायो ।