शिशिर पौडेल / पोखरा। पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने पौडेल बन्धुको कुल पुजा यहि मंसिर २२ गते हुने भएको छ।
पोखरा १९ घार्मीको देउतीपुज्नेमा रहेको कुल मन्दिरमा चण्डी पुर्णिमाको दिन बिधी पुर्वक पुजा आजा गरी कुल देवताको आराधना गरिने कुल पुजा व्यवस्थापन समितिका सदस्य लिला पौडेलले जानकारी दिनुभयो।सोही दिन कुल मन्दिरको समेत उद्घाटन गरिने बताइएको छ। पुजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कुल पुजा तयारी स्वरुप गठन गरिएका विभिन्न उपसमितिले तयारी तिव्र बनाएको र पुजालाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने समितिका सदस्य कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
कुल मन्दिर परिसरमा सरसफाई, पत्राचार, शिलालेखन लगायतका कार्य अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष बलराम पौडेलले जानकारी दिनुभयो।२० गते बाट नै चोखोनितो गरी पुजाको शुरुवात गरिने पौडेलले बताउनुभयो । परम्परा देखि नै पौडेल बन्धुले पुजा गर्दै आइरहेको उक्त स्थानलाई स्थानीयको सहयोगमा व्यवस्थित बनाईएको छ। घार्मी लगायत विभिन्न ठाउँमा छरिएर रहेका पौडेलहरूले प्रत्येक ५_५ वर्षमा कुल पुजा गर्दै आइरहेका छन्।