२०८१ कार्तिक २९ , बिहिवार

यसबर्ष मल अभाव नहुने, ४२ हजार ९८३ टन मल मौज्दात छ, थप आउने प्रकृयामा

सुनाखरी न्युज/ काठमाडौं ।
धान लगाउने बेला सधैं मल अभाव हुने गरेका बेला यसबर्ष  भने मौज्दातमा रहेको पाइएको छ । सरकारले हाल ४२ हजार ९८३ टन मल मौज्दात रहेको जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ टन मल मौज्दात छ ।

 

चालु आर्थिक वर्षमा हालसम्म ८६ हजार २४६ टन मल बिक्री भइसकेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै १५ हजार टन युरिया आयात भइरहेको र केही दिनमै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३० हजार टन युरिया पुसको पहिलो साता नेपाल आइपुग्नेछ, यो परिमाणको हाल बोरा प्याकिङ भइरहेको छ ।

 

चालु आर्थिक वर्षमा हालसम्म २ लाख ५७ हजार टन रासायनिक मल खरिदको लागि टेन्डर आह्वान (जीटूजी समेत) भएकोमा १ लाख १० हजार टन आयात भइसकेको मन्त्रालयको भनाइ छ ।