२०८१ पुष २८ , आइतवार

जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल ११औं स्थानमा

सुनाखरी न्युज/ काठमाडौं ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने विश्वभरका मुलुकमध्ये नेपाल ११औं स्थानमा पुगेको छ ।  नेपालमा करिब ४८ खर्बको जीडीपी छ, जसको अनुपातमा करिब २२ प्रतिशतको रेमिट्रयान्स भित्रिरहेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड ब्रिफ–२०२२’ रिपोर्टका अनुसार नेपालले सन् २०२२ मा भित्र्याउने रेमिट्यान्स कुल गाह्रस्थ्य उत्पादनको २१.८ प्रतिशत हुनेछ ।

अघिल्लो वर्ष जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स नेपालमा विश्व भरकै मुलुकमध्ये १०औं स्थानमा थियो । जीडीपीको अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा टोङ्गा छ । जसले आफ्नो जीडीपीको ४९.९ प्रतिशत बराबरको रकम रेमिट्यान्सको रुपमा भित्र्याउँछ । लेबनानले जीडीतको अनुपातमा ३७.८, समोउले ३३.८ र किर्गिस्तानले ३२.१, ताजिकिस्तानले ३१.३, द गाम्बियाले २८.३, होन्डुरस २७.१, साउथ सुडानले २४.८, इ–साल्भाडोरले २३.८ र हाइटीले २२.५ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ ।

 

दक्षिण एसियामा जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउनेमा त नेपाल पहिलो स्थानमा छ । अंकका आधारमा भारत, पाकिस्तान र बंगलादेशले नेपालको भन्दा धेरै रेमिट्यान्स भित्र्याउँछन्, तर आफ्नो जीडीपीसँग तुलना गर्दा उनीहरुको रेमिट्यान्स सानो अंकको हो ।