२०८१ कार्तिक २९ , बिहिवार

निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व भएको गठबन्धनको निष्कर्ष

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक सोमबार बालुवाटारमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

 

बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनःपुष्टि गरेको उल्लेख छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरूको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’

 

निर्वाचनका क्रममा गठबन्धनभित्र असहयोग र असमझदारीका घटना देखा परेको पनि विज्ञप्तिमा उल्लेख छ । ती घटनालाई आगामी दिनमा समाधान गर्ने निर्णय पनि गठबन्धनले गरेको छ । मतदाताप्रति आभार व्यक्त गर्दै गठबन्धनले भनेको छ, ‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।