२०८१ आश्विन ६ , आइतवार

१८ वर्षपछि वीरगञ्जमा नेपथ्यसँगै झुमे दर्शक

सुनाखरी न्युज/ काठमाडौं । मानवसेवा आश्रमले आयोजना गरेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा वीरगञ्जबासीको उल्लेख्य सहभागिता भयो। १८ वर्षपछि नेपथ्यले वीरगञ्जमा आफ्नो कन्सर्ट गरेको हो।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा झण्डै पाँच हजार संगीत पारखीले कन्सर्टको मजा लिएको वीरगञ्जको इतिहासमै यो सबैभन्दा बढी सहभागिता भएको कन्सर्ट बनेको कन्सर्टका संयोजक गणेश लाठले बताए। उनका अनुसार यो उपस्थिति मानवता प्रवर्द्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदर हो।वीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरूको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एवं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ वीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो। कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन नेपाली लोक/पप गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापीरूपमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत यो दोस्रो कार्यक्रम हो। यसअघि मंसिर १६ गते विराटनगरमा कार्यक्रम सम्पन्न भइसकेको छ। अबको कार्यक्रम मंसिर २२ गते हेटौँडाको भुटनदेवी चौरमा हुने भएको छ।

 

वीरगञ्जको कन्सर्टको सुरुमा आश्रमबाट उद्धार गरिएका व्यक्तिका विषय समेटेर बनाइएको डकुमेन्ट्रीले दर्शकलाई केही क्षण भावुक पनि बनाएको थियो। गायक गुरुङले त्यसपछि आफ्नो प्रस्तुतिको सुरुमा ‘भेडाको ऊनजस्तो’ गीत गाएका थिए। त्यसपछि प्रस्तुत ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतमा वीरगञ्जबासी झुमेका थिए।गीतको बीचबीचमा गुरुङले राष्ट्रिय भावनाले ओतप्रेत तथा मानवसेवा आश्रमको उद्देश्यबारेका सन्देश बाँडेका थिए। उनले गीत संगीतलाई माया गर्न र सुन्दर नेपाल घुम्न दर्शकहरूलाई मञ्चबाटै अनुरोध पनि गरे।

 

उनले आफ्नो ब्याण्डको चर्चित गीतहरू ‘यो जिन्दगानी’, ‘गाउँगाउँबाट उठ’ पनि गाए। त्यसपछिको प्रस्तुत ‘रेशम’ र ‘तालको पानी’ले थप दर्शकलाई उफार्याे। कार्यक्रमको अन्त्यमा उनले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गर्दा दर्शकहरू राष्ट्रिय झण्डा बोकेर नृत्यमा सहभागी भएका थिए। गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।