सुनाखरी न्युज/ काठमाडौं । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज देखि सुरु भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ ।
१५ दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा/धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको औपचारिक सुरुवात गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव जीवन नाछिरिङले बताए । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरु गरिने साकेला उँभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमहरुसमेत राखिएको किराँत राई यायोख्खाले जनाएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरुले बताएका छन् ।
साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलहरु तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ।