सुनाखरी न्युज/ काठमाडौं । धनुषामा एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। धनुषाको क्षीरेश्वरनाथ नपा-५ महेन्द्रनगरस्थित जनकपुर ढल्केबर सडकखण्डमै पर्ने महेन्द्रनगरको अमरचौकस्थित हीरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। स्थानीयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो।
राति करिब साढे १२ बजेको समयमा भएको आगलागी बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। मिथिला नपा-२ नक्टाझिज बस्ने हीरा महतोले वर्षौंदेखि सञ्चालन गर्दै आएको उक्त पसलमा आगलागीबाट करिब ३० लाखभन्दा बढीको इलेक्ट्रोनिक सरसामान जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए। स्थानीयका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट पसलमा रहेको फ्रिज, एलएडी टीभी, राइसकुकर, ग्याँस चुलो, इन्भर्टर लगायतको सरसामान जलेको छ। आगलागी भएको ठाउँमा पुगेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेशप्रसाद यादवले विद्युत् वा इन्भर्टर सर्ट भएर आगलागी भएको हुनसक्ने बताए।