सुनाखरी न्युज/ काठमाडौं। नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ ।
निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले धर्ना दिन लागेको हो । संसद सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताउनुभएको थियो ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, संवैधानिक परिषद्, न्यायपरिषद् र जबरालाई पत्र पठाउनु भएको थियो । सोही पत्रका आधारमा जबराले आफू सर्वोच्च फर्कन पाउनु पर्ने अडानमा हुनुहुन्छ । तर बार एशोसियसन र सर्वोच्चका न्यायाधीशहरु भने जबरालाई छिर्न नदिने अडानमा रहेका छन् ।
उता, जबरा विरुद्धको महाअभियोग निस्क्रिय भईसकेको भन्ने संसद सचिवालयको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चमा शुक्रबार सुनुवाई पनि हुने भएकाे छ । सर्वोच्च अदालत बार एशाेसिएसनका पदाधिकारीहरूले दायर गरेको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने छ। संसद सचिवालयका महासचिव गौतमले महाअभियोग निस्क्रिय भएको निर्णय गरेर क्षेत्राधिकार उल्लंघन गरेको दावी गर्दै बारका पदाधिकारीहरूले रिट दायर गरेका थिए ।