सुनाखरी न्युज/ काठमाडौं। अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन ।
मकवानपुर, मनहरी गाउँपालिका-७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजी सहित सोही गाउँपालिका-७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, कबिलासी नगरपालिका-१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण राय समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ३ सय ग्राम र नगद १ हजार ५ सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।