२०८१ पुष २९ , सोमवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं। छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गेस्थित सडकमा लु.२ ख ६५०१ नम्बरको ट्रकले लु.६२ प ८७८४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्घाखाँची धनचौर-३ बस्ने १७ वर्षीय सम्राट खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर पठाइएको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, लहान नगरपालिका-३ स्थित सडकमा बा.१९ च ६९३२ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री धनुषा जनकपुर उपमहानगरपालिका-२३ बस्ने २४ वर्षीय मुकेश साहको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर गाइते भएका उनको माँ धमिनी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त गाडीको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीलाई थप उपचारको लागि धरान घोपा सुनसरी पठाइएको छ । उक्त पिकअप गाडीले सोही ठाउँस्थित पार्किङ गरी राखेको बा.१६ च ८८१२ नम्बरको स्कारपियो गाडीलाई समेत ठक्कर दिँदा क्षति भएको छ । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा रोकी राखेको ना.३ त ७१९२ नम्बरको ट्याक्टरमा सिमराबाट पथलैयातर्फ जाँदै गरेको प्र.२-०३-००२ प ९९९९ नम्बरको स्कुटर ठक्कर खाई गएराति दुर्घटना हुँदा स्कुटर चालक डडेलधुरा घर भई हाल बारा जितपुरसिमरास्थित ईच्छा होटलमा काम गर्ने ५५ वर्षीय ज्ञानेन्द्र ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि बयोधा अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

बैतडी, पाटन नगरपालिका-१० डंसेलीस्थित सडकमा डडेलधुराको अनारखोलीबाट नवदुर्गा गाउँपालिकातर्फ जाँदै गरेको से.१ ज ८१६ नम्बरको जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक डडेलधुरा नवदुर्गा गाउँपालिका-५ उकाली बस्ने ३६ वर्षीय तेज बहादुर साउँदको घटनास्थलमै मृत्यु भएको छ ।

 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।