२०८१ मंसिर १२ , बुधवार

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं। पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् । छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ । जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच अहिले वार्ता चलिरहेको छ ।

 

‘हाम फालेको जस्तो देखिँदैन तर भवन मर्मतको काम भने चलिरहेकै रहेछ । छोरीलाई ३ दिनदेखि मुटुसम्बन्धी समस्यामा भर्ना गरिएको रहेछ । घटनाको अनुसन्धान थालेका छौं,’ घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर किरण राउतले भने ।