२०८१ पुष २८ , आइतवार

हस्तकला मेलाको दोस्रो दिनमा उल्लासमय जमघट, १० हजारले हेरे मेला

सुनाखरी न्युज/ काठमाडौं । १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताको दोस्रो दिन शनिबार करिब १० हजार व्यक्तिले मेला अवलोकन गरेका छन् । सार्वजनिक बिदाको दिनसमेत भएकाले परिवारसहित मेला घुम्न र किनमेल गर्न आउने अवलोकनकर्ताको राम्रो उपस्थिति रहेको मेला आयोजक समितिका संयोजक तथा हस्तकला महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए । मेलामा स्वदेशी तथा विदेशी अवलोकनकर्ताको राम्रो उपस्थिति देखिएको छ ।

 

संयोजक तुलाधरका अनुसार मेला अवधिभर करिब १ लाख आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निशुल्क प्रवेश पास वितरण गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डर समेत गरी झण्डै १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको तुलाधरले जानकारी दिनुभयो ।

 

राजधानी काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा भइरहेको मेलाको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी थिइन् । मंगलबारसम्म सञ्चालन हुने मेलामा ५ वटा प्याभिलियन सहित कूल १३० स्टल रहेका छन् । मेलामा बागमती प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट महिला उद्यमीहरुको प्याभिलियन, वीन कोअपरेटिभ, ललितपुरका विभिन्न वडाहरुको समूह तथा नेपाल एक्जिबिटर्स एशोसिएसनको छुट्टाछुट्टै प्याभिलियन रहेको छ ।

 

हस्तकला मेलाका विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरुको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवा सम्बन्धी जानकारी मूलक स्टलहरु समेत रहेका छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गरिएको छ । त्यसैगरि मेलामा महिला, अपांग, एसिड आक्रमणमा परेकाहरु र पिछडिएका वर्गलाई निशुल्क स्टल प्रदान गरिएको छ ।

 

हाल नेपाली हस्तकलाका वस्तुहरु विश्वका ६० भन्दा बढी देशमा वार्षिक १२ अर्ब मूल्य बराबरको निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई कूल २४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको जनाइएको छ । हस्तकला उद्योग व्यवसायमा करिब ८ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।