सुनाखरी न्युज/ काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् । गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेको थिए ।
गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सचिवालयबाट आएको पत्र दर्ता गरेर मुख्य रजिष्टारकोमा पठाइएको छ । बन्द चिठी भएकोले सचिवालयले सर्वोच्चलाई जवाफमा के लेखेको छ भन्ने कुरा प्रष्ट नभएको र पत्र मुख्य रजिष्टारको टेबलमा पुगेको उनले बताए ।
संघीय संसदका महासचिवले लेखेको सो पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै यसअघि नै सर्वोच्चको संवैधानिक इजलासले फैसला गरिसकेको छ । संवैधानिक इजलासले संसद सचिवालयका महासचिव गौतमलाई पत्र लेख्ने अधिकार नभएको उल्लेख गर्दै उनीद्वारा जारी पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियो । महासचिवले लेखेको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।