गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए। कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
बढ्यो आकर्षण
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनीहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् । “विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ”, बेलबासेले भने। मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत आफैँ गर्दै र्आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारीसमेत दिएका छन् । उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छिन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनी कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागेकी छिन् ।
आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेकी छिन् । उनी प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएकी छिन् । “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो”, उनले भनिन् ।