२०८१ पुष ११ , बिहिवार

गोरखाको ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक राखिने

सुनाखरी न्युज/ काठमाडौं । गोरखा नगरपालिकाले सदरमुकामको पुरानो बजार ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको शालिक राखिने भएको छ ।

 

पर्यटक भित्र्याउन गोरखाको ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु भएको छ । ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक रहने छ । शालिकसँगै नेपालको नक्सा अङ्कित मोनोग्राम र नेपालको झण्डा पनि राखिने छ । सालिक स्थापना गर्न यहाँ ४० वर्षअघि छापिएको ढुङ्गा फुटाइएको छ । नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिनेछ । नगरपालिका र नेपाली सेनाले सङ्युक्त रूपमा यहाँ कार्यक्रम सञ्चालन गर्नेछ ।

 

२०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो । त्यसैअन्तर्गत तल्लो दरबारलाई गोरखा सङ्ग्रहालय, आसपासका क्षेत्रलाई गोरखा पार्क, पृथ्वीनारायण शाहको सालिक निर्माण गरेको छ । साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरिएको छ । केही स्थानीयबासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातात्विक नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा सङ्ग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो ।

 

पुरातात्विक क्षेत्रबाट खुल्ला भएपछि यसअघि बिछ्याइएको ढुङ फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालिएको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइ र अवधारणा अनुसार ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक बनाउने तयारी छ । शालिकसँगै नेपालको नक्सा अंकित मोनोग्राम र नेपालको झण्डा पनि राख्न २१ लाख रुपैयाँ लाग्ने नगरपालिकाको अनुमान छ ।