२०८१ आश्विन ८ , मंगलबार

प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शोमबार गएको प्रतिनिधी मण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रसँग भेटगरी संघिय सरचना अनुरुप हुनेगरी सुन वितरणको कार्यविधी शंशोधनगर्न आग्रह गरेको हो ।

हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगत रुपमा वनेको कार्यविधी अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधी ब्यवहारिक हुन नसकेको भन्दै महासंघले यथासिघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।
त्यसक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रले महासंघले राखेको मागलाई आफूले गंभिररुपमा लिएको र यस बिषयमा सम्वन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताउनुभयो । त्यसक्रममा उहाँले एउटा बैंकको खातावाट सवै बैंकमार्फत कारोबार हुने सक्ने ब्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुवाट सहजरुपमा सुन उपलब्ध हुने ब्यवस्था मिलाउन ब्यवसायीले गरेको आग्रह अनुरुप त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

भेटका क्रममा ब्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी ब्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्न समेत आग्रह गरे । त्यस अवसरमा महासंघका अध्यक्ष शाक्यले ब्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताउनुभयो । यस्तै उहाँले देशका विभिन्न नौ नाकाहरुवाट सुन उपलब्ध गराउनु पर्ने ब्यवस्था कार्यविधित्रमा रहेको भए पनि बैंकहरुले त्यस अनुसार काम नगरेकोले ब्यवसायीलाई सुन दिन काठमाडौंमा नै धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समयमा दैनिक १० किलोकादरले सुनको अयात हँदै आएको छ । जुन बजारको मागको तुलनामा अतयन्तै कम भएको ब्यवसायीको गुनासो छ ।