२०८१ पुष २७ , शनिवार

दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक

सुनाखरी न्युज/ काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ। नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।

 

विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो।

 

बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्याउन निर्देशन दिँदै विभागले औषधीको प्रयोग नगर्न र नगराउन पनि सर्वसाधारणलाई सचेत गराएको छ। दुवै औषधिमा खराबी देखिएको र स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने विभागले सूचनामा उल्लेख गरेको छ।