२०८१ मंसिर १० , सोमवार

बजारमा तरलता भित्रभित्रै सुधार भएकाे छ : गभर्नर अधिकारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता भित्रभित्रै सुधार भएकाे बताएका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै तरलताको समस्या समाधान हुँदै गएको बताएका हुन् ।

 

उनले अहिलेको अवस्था चुनौतीपूर्ण नै रहेपनि अर्थतन्त्रका सकारात्मक पक्ष पनि रहेको र ति बाहिर नआएको बताए । उनले बैंक तथा वित्तीय संस्था ठिक ठाउँमा आएको, अघिल्लो वर्ष सिडी रेसियोको समस्या रहेकोमा अहिले त्यस्तो समस्या नरहेको, तथा समग्र अर्थतन्त्र सुधार तिर अगाडी बढिरहेको उनले बताए । उनले तरलताको अवस्था सहज हुँदै गए पनि ऋणीले ऋण नपाएको कुरा मात्र बाहिर आएकोमा गुनासो गरे । उनले जसको बिजनेश थप छैन, त्यस्ता ऋणीलाई थप ऋण दिएर ब्याज आम्दानी देखाउने अवस्था अब नरहने बताए।

 

बैंकर्स संघले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेकोमा गभर्नर अधिकारीले संघलाई धन्यबाद दिएका छन् । डा. रावलले नेपालकाे अर्थतन्त्र प्रति दिएकाे याेगदानकाे कदर गर्नु पर्ने गभर्नर अधिकारीले बताए ।