२०८१ पुष ११ , बिहिवार

बागलुङको ‘खिउ बराह ताल’ ओझेलमा

सुनाखरी न्युज/ काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।

 

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन नसकेको उनको भनाइ छ । तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने उनले बताए । स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए । उनले स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए । स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिने उनको भनाइ छ ।

 

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए । बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँने उनले बताए । ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको उनले जानकारी दिए । ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताए ।