२०८१ पुष २९ , सोमवार

विश्वकपको बेटिङमा सट्टाबाजीमा दुई करोड बढी कारोबार गर्ने एजेन्ट पक्राउ

सुनाखरी न्युज / काठमाडौं – रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । महोत्तरीको महोत्तरी गाउँपालिका १ घर भई हाल ललितपुर महानगरपालिका २ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

 

विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सुचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।

 

एसपी कोइरालाका अनुसार विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए। वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एनआईसी एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानमा खुल्न आएको छ । उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।