सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्।
नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन्। उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए।
स्थापित पार्टीहरूको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको नेता केसीकाे भनाइ छ। उनले भने, ‘अहिलेको जुन खालको परिस्थिति छ। त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ। जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि हाम्रा स्थापित पार्टीहरूका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो। अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो।’