सुनाखरी न्युज / विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ ।
यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो । रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह चरणमा एक/एक खेल हारेको थिए । उता सेमिफाइनलसम्म आउँदा अपराजित रहेका क्रोएसिया र मोरक्को भने एक हारपछि नै विश्वकपबाट बाहिरिए ।
अब अर्जेन्टिना र फ्रान्सबीच आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ । क्रोएसिया र मोरक्को त्यसअघि शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्।
१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो। अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन। १९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो। त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो।