सुनाखरी न्युज/ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनुभयो । उहाँले सहकारी तथा सरोकारवा निकायहरुले कम्फड जोन नछोडे कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति नहुने बताउनु भयो ।
सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, बिस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्ने बताउनुभयो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रवाधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताउनुभयो । उहाँले अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनकुलको कानूनी बनाउन आवश्यक रहेको बताउनुभयो ।