२०८१ मंसिर १४ , शुक्रवार

वालेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक महिनाको अवधिमा करिब तीन लाख वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको असोज महिनाको तुलनामा कात्तिक महिनासम्ममा २ लाख ९३ हजार ९१५ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको असोज महिनासम्म एक करोड ४८ लाख ३९ हजार ८२० जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता बढेर कात्तिक महिनासम्म आइपुग्दा एक करोड ५१ लाख ३३ हजार ७३५ जना पुगेका हुन् ।

 

वालेटसंगै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु पनि बढेका छन् । गत असोज महिनासम्म एक् करोड ९१ लाख २ हजार ६५२ जना रहेकोमा उक्त संख्या बढेर कात्तिक महिनासम्म आइपुग्दा एक करोड ९४ लाख ३ हजार ६८० जना पुगेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि बढेका छन् । गत असोज महिनासम्म १७ लाख १९ हजार ७३३ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर कात्तिकसम्म आइपुग्दा १७ लाख ५० हजार ९३६ पुगेको छ ।

 

त्यस्तै, कनेक्ट आइपिएस, डेबिट कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत कात्तिक महिनासम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ५८ हजार २५० जना पुगेका छन् । यस्तै, यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १७ लाख ३८ हजार ९७३ जना र क्रेडिट कार्डका प्रयोगकर्ता २ लाख ६९ हजार ४७६ जना पुगेका छन् ।