२०८१ माघ ३ , बिहिवार

भुमेश्वर आधारभुत बिद्यालयको ६७ औं वार्षिकोत्सव सम्पन्न

शिशिर पौडेल/ पोखरा । पोखरा १९ घार्मीमा रहेको भुमेश्वर आधारभुत बिद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ।

 

विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु शोभा मोहन पौडेल, डिल्लीराम पौडेल, रामचन्द्र पौडेल, राजकुमार पौडेल, माधव पौडेल, पोषराज पौडेल अक्षयकोषदाता होमनाथ आचार्य,हरेराम घिमिरे, पुर्व प्रधानाध्यापक बैकुण्ठ पौडेल, पुर्व शिक्षक सुभद्रा आचार्य, पुर्ण भद्र आचार्यलाई कार्यक्रमका प्रमुख अतिथी वडा नं १९का वडाध्यक्ष पुष्पेन्द् पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पौडेल र प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले यस क्षेत्रकै जेठो विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकारको साथ सदैव रहने विस्वास व्यक्त गर्नुभयो।

 

उहाँले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको संख्या न्यून भएकोमा चिन्ता व्यक्त गर्दै, सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आर्कषण बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष शोभामोहन पौडेल, विद्यालयका संस्थापक लिलाधर पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र पौडेल, डिल्लीराम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष केदार पौडेल, वडा सदस्य दुर्गादेवी बस्नेत, कल्पना सुनार, पुर्व प्रधानाध्यापक बैकुण्ठ पौडेल, अक्षय कोष संयोजक मोहन प्रसाद पौडेल, अक्षय कोष दाता होमनाथ आचार्य, शिक्षक शर्मिला पराजुली लगायतकाले बोलेका थिए।

 

विविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको सो समारोहमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक माधव प्रसाद आचार्यले संचालन गर्नु भएको थियो। वि सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म पनि विद्यार्थीहरू टिनको छानामुनि वसेर अध्ययन गर्न वाध्य छन्।