२०८१ आश्विन ६ , आइतवार

विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने

सुनाखरी न्युज/ काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने भएको छ । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो ।

 

यो चरित्रले विपिन कार्कीलाई फिल्म उद्योगमा स्थापित गरिदियो । जसबाट उनी आफ्नो नामले भन्दापनि ‘भष्मे डन’ नामले चिनिन थाले । अब सो पात्रलाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा विपिन फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने भएका हुन् ।

 

निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने चलचित्रको पटकथा भने खगेन्द्रले नै लेखिरहेका छन् । चलचित्रको छायांकन फागुनदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । चलचित्रको शीर्ष भूमिकामा विपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि ‘भष्मे डन’ मा देखिनेछन् ।