२०८१ पुष २५ , बिहिवार

तस्करी गरी ल्याउँदै गरेको मोतियाविन्दुको लेन्स प्रहरीको नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो । ८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८०० रूपैयाँ बराबरको औषधि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतदेखि तस्करी गरेर ल्याइएको लेन्स आँखा अस्पतालले प्रयोग गर्ने गरेको आशंका छ । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रूपैयाँसम्म पर्छ ।

 

प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याएको चाबी (साँचो), थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान पनि बरामद गरेको छ । भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए । तस्करीको सामान ल्याउनेहरु प्रहरीलाई देख्नासाथ भागेको उनले बताए ।