२०८१ पुष ८ , सोमवार

नवलपरासीमा सुन्तला उत्पादनमा वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नवलपरासी मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो ।

 

जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए । गत वर्ष जिल्लामा सात सय ९५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । नवलपरासी को दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरी १४ वडामा तीन हजार दुई सय कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।’ उनले भने, ‘सुन्तलाखेतीका लागी बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिइन्छ । यसबाहेक धुर्कोट, रतनपुर र र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तलाखेती राम्रो हुने गर्दछ ।

 

सुन्तलाको उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ । पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउनु पर्नाको साटो व्यापारी नै गाउँ-गाउँमा आएर किन्ने गरेको कृषकहरूले बताएका छन् । जिल्लाको पहाडी क्षेत्रमा उत्पादित सुन्तला स्थानीय बजारसहित बुटवल, पोखरालगायत स्थानमा जाने गरेको छ । पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तलाखेतीमा आश्रित छन् ।