२०८१ मंसिर ३ , सोमवार

पैसा लिएर ई-पासपोर्टको अनलाइन फारम भरिदिने ४०० विचौलिया समातिए

सुनाखरी न्युज/ काठमाडौं । विद्युतीय राहदानी कार्यान्वयनमा आएपछि हालसम्म ४०० भन्दा बढी विचौलिया समातिएका छन् । सेवाग्राहीमार्फत पैसा असुली अनलाइन फारम भर्ने वा अन्य प्रलोभन देखाउने व्यक्तिलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटी पठाउने गरेको राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

 

एक वर्षको अवधिमा काठमाडौंबाट मात्रै ४०० भन्दा बढी विचौलिया समातिएका छन् । ​सेवाग्राहीबाट मनपरी शुल्क लिई विचौलियाले चाँडो बायोमेट्रिक डेट बुक गराइदिने भन्दै प्रलोभन देखाउने गरेको सूचना विभागमा आइरहेको छन् । ई-पासपोर्टको अनलाइन फारम भर्न शुल्क लाग्दैन । तर विचौलियाले सोझा सेवाग्राहीलाई वशमा पारी ठगी गर्ने गर्छन् ।कार्यालय समयमा विभाग वरपर विशेष प्रहरीसमेत तैनाथ गरिएको छ ।

 

राहदानीका लागि तोकिएका इन्रोलमेन्ट सेन्टर नजिकै खुलेका साइबर पसल र एजन्टहरुले शुल्क लिई अनलाइन फारम भरिदिने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमा सम्पर्क नम्बर नै राखेर अनलाइन फारम भरिदिन्छौं भन्ने पोस्ट प्रशस्तै देख्न सकिन्छ । राहदानी विभागको वेबसाइटमा नियमित ‘समस्या’ देखिँदा यसको फाइदा विचौलियाले उठाइरहेका छन् । विचौलियाको सहारा लिएर काम गर्नुपर्ने बाध्यता धेरै सेवाग्राहीलाई भएपनि विभागले न आफ्नो प्राविधिक क्षमता बढाउन सकेको छ, न त प्रभावकारी रुपमा नियमन नै गर्न सकेको छ ।