२०८१ पुष २८ , आइतवार

नापतौल कार्यालयद्वारा टोल-टोलमा ‘डोर टोली’ परिचालन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नापतौल गर्ने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको छ ।

 

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाल खुद्रा व्यापार संघसँगको सहकार्यमा टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानून अनुसार कारबाही समेत गर्ने छ ।

मंगलबार काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको पसलहरुमा कार्यलयकी सहायक निरीक्षक अनिता घिमिरेको नेतृत्वमा निरीक्षणको टोली पुगेको थियो । सहायक निरीक्षक घिमिरेले पसलमा भएका नापतौल ढक तराजु दर्ता नगर्ने व्यवसायीहरुलाई अनुगमन फारम भराई तीन दिनभित्र ढक तराजु दर्ता गर्न निर्देशन दिनुभयो । उहाँले तराजुमा कुनै कैफियत भेटिए कारबाही गरिने पनि बताउनुभयो ।

 

उहाँले काठमाडौं लगायत विभिन्न जिल्लाका व्यवसायी फर्म तथा पसलामा शुक्रबारसम्म निरीक्षण गरिने बताउनुभयो । उहाँले व्यापारीहरुले ढक तराजु खरिद गरेको मितिले ३५ दिनभित्र अनिर्वाय दर्ता गर्नुपर्ने अन्यथा जरिवान हुने कानूनी व्यवस्था रहेको पनि जानकारी दिनुभयो । नेपाल खुद्रा व्यापार संघका सदस्य शिव डंगोलले व्यापारीले प्रयोग गर्दै आएका ढक तराजुका साथै डिजिटल काटा बिग्रिएको हुनसक्ने भएकाले ठिक छ कि छैन भनि जाँचबुझ गर्न टोली बनाएको बताउनुभयो ।

नापतौल विभागले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला कार्यक्षेत्र रहेको नापतौल कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको पनि कार्यालयले जनाएको छ ।