२०८१ कार्तिक ३० , शुक्रवार

रवि लामिछानेलाई सांसदको शपथ खाने बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले दुवै पक्षलाई झिकाउने फैसला गरेको हो ।

 

सर्वोच्चले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेलाई बिहीबार सांसदका रूपमा शपथ खाने बाटो खुलेको छ । लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता सुनील पोखरेलले सर्वोच्चको आदेशबारे जानकारी दिँदै भने,’सर्वोच्च अदालतले अन्तरिम आदेश दिने/नदिने भन्नेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । अन्तरिम र अन्तरकालीन आदेश पनि जारी नभएकाले बिहीबारको रविजीको शपथ रोकिएन ।

 

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत थिए ।