२०८१ माघ १ , मंगलबार

तस्करी नियन्त्रण तथा अपराधको सफल अनुसन्धानमा केन्द्रित हुनु प्रहरी महानिरीक्षक सिंहको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

 

हालै काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात अब प्रहरीको नियमित काममा केन्द्रित रहन प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

 

प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताउनुभयो । नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै उहाँले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिनुभयो ।

 

प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताउनुभयो ।
यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले समेत काज सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।