२०८१ पुष २७ , शनिवार

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. शर्मा नियुक्त

 

सुनाखरी न्युज/ काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । तीन महिनाअघि नै प्रा. डा. गुरु खनालको कार्यकाल सकिएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो ।

 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्यमन्त्री भवानी खापुङले शर्मालाई शिक्षाध्यक्ष पदमा नियुक्त गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ (ग) को उपदफा १ र प्रतिष्ठान नियमावली २०५५ को नियम ८.१ अनुसार स्वास्थ्य मन्त्री खापुङले शर्मालाई नियुक्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् । पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको फुलबारी भए पनि पछिल्लो समयमा झापाको साविक दुवागढी-४ चारआलीमा बस्दै आएका प्रा. डा. शर्माले भारतकै सबैभन्दा पुरानो आसामको स्वास्थ्य प्रतिष्ठान डिब्रुगढी मेडिकल कलेजबाट सन् १९९७ मा एमडी गरेका छन् । पछि चितवनको मेडिकल कलेजबाट मुटुसम्बन्धी विषयमा अर्को डिग्रीसमेत लिए ।

 

उनी जापानमा सम्पन्न विश्व मिर्गौला रोग विशेषज्ञहरूको इन्टरनेसनल सोसाइटी अफ किड्नीले सन् २००६ मा दिएको ‘यङ इन्भेस्टिगेट अवार्ड’, सन् २००७ मा ब्राजिलमा सम्पन्न इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीले दिएको ‘वर्ल्ड नेफ्रोलोज‍ी फेलोसिप अवार्डद्वारा सम्मानित भइसेका छन् । उनी एसियन इनिसिएटिभ अफ किड्नी डिजिजका प्रमुख सल्लाहकारसमेत हुन् ।

 

यसैगरी रिक्त रहेका सिनेट सदस्यको पदहरूमा प्रतिष्ठानका माइक्रो बायोलोजी विभागका प्रमुख एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराई र स्कुल अफ पब्लिक हेल्थ एन्ढ कम्युनिटी मेडिसिनका प्रोफेसर डा. निलाम्बर झालाई नियुक्त गरिएको छ । तीनै जनाले बिहीबारदेखि नै कार्यभार सम्हालेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले बताए ।