२०८१ कार्तिक ३० , शुक्रवार

भ्रष्टाचार र हत्या अभियुक्त गुरुङ र महतोले लिए सांसदको शपथ, चार सांसद शपथमा अनुपस्थित

सुनाखरी न्युज/ काठमाडौं ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् । संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।

तिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।

 

अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । महिन्द्रराय यादवको शपथ कार्यक्रम शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।

 

कानुनअनुसार गुरुङ स्वतः निलम्वनमा परेका व्यक्ति भएपनि त्यस विपरीत बिहीबारको शपथमा उनी सहभागी भएका हुन् । त्यस्तै सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् ।

 

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।

यसैगरी २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा लक्ष्मी महतो कोइरी अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी–१ बाट ‘सूर्य चिह्नवाहक’ उम्मेदवार बनेका थिए । सिट बाँडफाँट गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमाले नै प्रवेश गरेर चुनाव लडेका हुन् । गठबन्धनको सहयोगीका रूपमा जसपाको समेत समर्थनमा उनी विजयी भएका थिए ।