२०८१ मंसिर १४ , शुक्रवार

नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को ३६ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा लगानीकर्ताहरुलाई ११% लाभांश (४% बोनस शेयर र ७% नगद) वितरण गर्ने निर्णय यसै साधारण सभाबाट पारित भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले ६ अर्ब २८ करोड रुपैया संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैया खुद मुनाफा आर्जन गरेको छ । साथै, यस बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैया पुगेको छ (आर्थिक वर्ष २०७८÷७९ को बोनश शेयर समेत) ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि. को निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ । त्यसैगरी कर्जा लगानी तर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैया रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा १६४ अर्ब ८२ करोड रुपैया रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र मेगा बैंक लि. बिच मर्जरमा जाने निर्णय यसै साधारण सभाबाट पारित भई छिट्टै मर्जर प्रकृया सम्पन्न गरी संयुक्त कारोबार गर्ने क्रममा रहेको छ ।

हाल बैंकको ८८ वटा शाखा कार्यालय, १३१ वटा ए.टि.एम, २३ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर तथा ५९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत १० लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । स्तरिय बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने “बैंक अफ द इयर” अवार्ड छैठौं पटक २०२२ मा प्राप्त गरेको छ । साथै, यस बैंकले अन्तर्राष्ट्रिय प्रकाशन – युरोमनीले प्रदान गर्ने “बेस्ट बैंक २०१८” र “बेस्ट बैंक २०२१” को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ ।