२०८१ मंसिर १३ , बिहिवार

‘नाबालिका भनिएको किशोरीको उमेर १८ वर्ष पुगेको पत्र आयो’- सन्दीपका वकिल

सुनाखरी न्युज/ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

 

आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो । अदालतको देशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ । सन्दीपका एक वकिलले भने, ‘स्थानीय तहले काठमाडौँ जिल्ला अदालतमा जन्मदर्ता खुल्ने सक्कल कागजात पठाइसकेको छ । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको उल्लेख छ । यसको अर्थ वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको देखिन्छ ।’

 

१८ वर्ष नपुगी सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिने कानुनी व्यवस्था छ । सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैँले साँचो लिएर गएको कारण त्यहाँ जबरजस्तीको चिन्ह नदेखिएको सन्दीप पक्षका वकिलहरूले जिकिर गरेका थिए । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।