२०८१ मंसिर १२ , बुधवार

फ्रान्स फर्काउने प्रक्रिया पूरा नभएसम्म शोभराज अध्यागमनकै हिरासतमा रहने

सुनाखरी न्युज/ काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई आज अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका हुन् ।

 

उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पुरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनलाई विभागमा एक्लै राखिनेछ । केन्द्रिय कारागारका सहायक जेलर मित्र लुइटेलले सबै प्रक्रिया पूरा भइसकेको र अध्यागम विभागले बोलाउने बित्तिकै लैजाने बताए । सर्वोच्च अदालतले शोभराजलाई बुधबार रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ । कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो ।

 

सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो । त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा राखिएको थियो ।