२०८१ कार्तिक २१ , बुधवार

कोरियाबाट त्रिभुवन विमानस्थल आइपुगे १७ करोड मूल्यका साँढे र बाछी

सुनाखरी न्युज/ काठमाडौं । दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् ।

 

नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो । उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याइएको हो । नेपाल ल्याउनका लागि हेफर इन्टरनेसनल नेपाल र कोरियाले सहयोग गरेका छन् । हेफर इन्टरनेसनल नेपालका सञ्चार प्रवन्धक प्रबिन गुरुङका अनुसार एउटा बाछीको मूल्य ३ हजार अमेरिकी डलर पर्छ । त्यस्तै एउटा साँढेको मूल्य २ लाख डलर पर्छ ।

 

‘कोरियाका किसानले अनुदान/उपहार स्वरुप कुल १ सय १ वटा बाछी र २० वटा साँढे दिएका छन् । पहिलो लट अनुसार बिहीबार ४२ वटा आइपुगेका छन्’ उनले भने, ‘अरु बाछी र साँढेहरु पनि क्रमिक रुपमा आउनेछन् ।’नेपाल ल्याइएका ती बाछी र साँढे क्वारेन्टाइनका लागि कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । त्यसपश्चात सिन्धुलीका किसानलाई हस्तान्तरण गरिने जनाइएको छ ।