२०८१ पुष २७ , शनिवार

इलाममा २ बच्चासहित एचआईभी संक्रमितको संख्या ७५

सुनाखरी न्युज/ काठमाडौं । इलाममा २ बच्चासहित एचआईभी संक्रमितको संख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ संक्रमित थप भएका इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिइन् । जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागूपदार्थ प्रयोगकर्तामा एचआईभी फैलिएको पाइएको छ ।

रोजगारीकै सिलसिलामा जिल्लामा एचआईभी संक्रमित वृद्धि भएको उल्लेख गर्दै उनले कन्यामस्थित एक होटलमा एचआईभी संक्रमित कार्यरत भएको पाएको र उनको उद्धार समेत गरिएको बताइएको छ । संक्रमितलाई एचआईभीको आशंका भएमा परीक्षण गराउन फूलगाछीस्थित आश्रममा सम्पर्क गर्न आग्रह गरिएको छ । विगत ३३ वर्षदेखि शर्मा आफैं एचआईभीसँग बाँचिरहेकी अभियन्ता हुन् । वडा कार्यालयले एचआईभीसँग जीवन बिताइरहेकाहरूलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । वडामा मात्र ६ जनाले नियमित औषधि प्रयोग गरिरहेको जनाइएको छ ।

एचआईभीसँग बाँचिरहेका मानिस इलामबाहेक, झापा, धरान, काठमाडौं तथा भारतका अन्य शहरबाट औषधि ल्याउने भएकाले जिल्लाको सही तथ्यांक आउन नसक्ने अध्यक्ष शर्माको भनाइ थियो । नियमित औषधि प्रयोग गर्ने संक्रमित इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको संख्या ३५ छ । वडाध्यक्ष नरेश श्रेष्ठले जिल्लामा एचआईभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआईभी फैलिनबाट रोक्ने कार्यक्रम गर्न पूर्व तयारीको रूपमा कार्यक्रम आयोजना गरिएको बताए ।