२०८१ आश्विन ६ , आइतवार

१३ वर्षपछि बिपना थापाको कमब्याक

अभिनेत्री बिपना थापाले झण्डै १३ वर्षपछि अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । छायांकन तयारीमा रहेको फिल्म ‘ह्रस्वदीर्घ’मा उनी प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी छन् । बिपनालाई प्रमुखमध्येको एक पात्रको रुपमा अनुबन्धित गरिएको जानकारी निर्देशक चन्द्र पन्तले दिए । ‘उहाँलाई अनुबन्धित गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ’ पन्तले  भने ।

 

बिपनाको पछिल्लो फिल्म ‘संघर्ष जिन्दगीको’ जुलाइ २३, २०१० मा रिलिज भएको थियो । विवाहपछि फिल्मबाट टाढिएकी बिपना पछिल्लो समय भारतको कोलकातास्थित घरमा बस्दै आएकी छन् । उनी बेला-बेलामा नेपाल आउँछिन् । ‘हामीलाई बलियो पात्र आवश्यक थियो, त्यो रोलमा बिपनाजीलाई लिने निश्चित भयो । फिल्मका चार प्रमुख पात्रमध्ये बिपनाको क्यारेक्टर एउटा रहेको जानकारी उनले दिए ।

 

फिल्ममा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् । फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ । दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने तयारी छ ।